Header Ads

साँच्चै भन्नुपर्दा पानीजहाजको प्रसंगमा उनलाई उडाउनुचाहिँ वास्तवमै आलोचकहरूलाई यसको सम्भाव्यताको ज्ञान नहुनु नै हो ।


प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका सामु कविहरूको कल्पना फिक्का लाग्छ । उनी बिछट्टै कल्पनाशील छन् । यस्तो प्रतीत हुन्छ, उनी नेपाललाई यसको आकारभन्दा धेरै ठूलो देख्छन् । भारतको सेप र चीनको चेपमा भूपरिवेष्टित छ, मुलुक । उत्तरमा चीन, तीनतिर भारत ।

साँच्चै भन्नुपर्दा पूर्व, पश्चिम, दक्षिणमा भारत भएकोले यसलाई भारतवेष्टित भन्न पनि मिल्छ । तर उनी यी दुईभन्दा पर सोच्न समर्थ छन् । हालै उनले हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चलाउने दिन आउनेछन् भनेको प्रसंगलाई धेरैले अतिरञ्जित प्रचार गरे । तिनीहरू उनीमाथि नेपालीले पानीजहाजको कल्पनै गर्नु हुँदैन झैं गरेर खनिए ।

साँच्चै भन्ने हो भने कल्पनाशील व्यक्ति, प्रधानमन्त्री पाइएन भनिरहेका बेला ओलीको आगमन भएको छ । धेरैलाई लाग्न सक्छ, यो उनीमाथि व्यंग्य हो । होइन व्यंग्य यो पटक्कै । निर्माण विज्ञ, मर्मज्ञहरूलाई थाहा छ, कसैले सपना देख्छ, अनि बल्ल नक्सा कोरिन्छ । नक्सामाथि भवन बन्छ । भवनभन्दा पहिला भावना हुन्छ ।

भवन बनेपछि बल्ल त्यहाँ संसार सजिन्छ । निश्चय नै देशको दुरवस्थाका सामु ओलीका कतिपय मन्तव्य, कल्पना, परिकल्पना असान्दर्भिक प्रतीत हुन्छन् । तर उनले चर्चा गरेको पानीजहाज प्रसंग मनन र अध्ययनयोग्य विषय हो ।

किनभने चीनसँग सम्पन्न पारवहन सम्झौता र नेपालमा रेलमार्गको निर्माणका सम्भाव्यताको पृष्ठभूमिमा हेर्दा चिनियाँ बन्दरगाहमा पनि भारतमा जस्तै नेपालको स्वामित्व भएका ‘डक’ हुन्छन् । किन्न सके हो, हिन्द र प्रशान्तमात्रै किन अट्लान्टिक लगायत सागर, महासागर छिचोल्दै नेपाली ध्वजावाहक पानीजहाज चल्न सक्छन् ।
ओली ठूला सपना देख्दारहेछन् ।

प्रधानमन्त्री नबन्दासम्म उनी उखान—टुक्का उद्बोधकका रूपमा सीमित थिए । प्रधानमन्त्री बनेपछि, विशेषगरी पछिल्लो मधेस आन्दोलन र भारतद्वारा गरिएको आपूर्ति अवरोधका बेला उनले भनेका खाना पकाउने ग्यासको पाइप भान्सामा जोडिदिने तथा हावाबाट विद्युत उत्पादन गर्ने यी दुई विषयमाथि प्रशस्तै टिकाटिप्पणी भए ।

ग्यासको अभाव र लोडसेडिङका कारण यता दुनियाँलाई चुल्हो बाल्न हम्मेहम्मे परिरहेका बेला उनका ती भनाइ पटक्कै सान्दर्भिक थिएनन् ।

निश्चय नै उनले नबोली ती ‘आइडिया’ मनमनै गमेका भए हुन्थ्यो, हल्ला नगरी टिपोट राखेका भए हुन्थ्यो । एकैचोटी सरकारको नीति तथा कार्यक्रममा ती प्रावधान राखेका भए हुन्थ्यो ।

त्यतिखेर पनि ओली नगर्नुपर्ने कामका विषयमा बोलेका थिएनन् । तर उनी कुन बेला के बोल्ने भन्ने हेक्का नराख्दा आलोचनाका तारो बन्न पुगेका थिए । साँच्चै भन्नुपर्दा पानीजहाजको प्रसंगमा उनलाई उडाउनुचाहिँ वास्तवमै आलोचकहरूलाई यसको सम्भाव्यताको ज्ञान नहुनु नै हो ।

माथि पनि भनियो, बन्दरगाहमा आफ्नो डक भएपछि समुद्रीमार्गको अधिकार प्राप्त गर्न सकिन्छ । पानीजहाज भाडामा लिए अथवा सके खरिद गरे पनि हुन्छ । ओली धेरैलाई मन नपर्नु स्वाभाविक हो, तर मन पर्दैनन् भन्दैमा उछित्तै काढ्नु भने उचित होइन ।
निश्चय नै सपना देख्नेहरू प्रारम्भमा हास्यका पात्र बन्छन् । अटोमोबाइल नआउँदाको कुरा हो, बाटोमा घोडाले नतानी गाडी गुडाउँछु भन्ने निकोलास जोसेफ कग्नटलाई धेरैले पागल भनेका थिए । आकाशमा चराझैं यान उडाउँछौं भन्दा राइट ब्रदर्स हास्यका पात्र बनेका थिए । वाष्प इन्जिन बनाउने, रेल कुदाउने, टेलिफोन बनाउने सबैमाथि टिप्पणीकारहरूले व्यंग्य गरेका थिए । व्यंग्य गर्ने गरिरहन्छन्, उनीहरू व्यंग्यैमा समय व्यतीत गरिरहुन्, तर सपना देख्ने अघि बढिरहन्छन् । ध्येयनिष्ठ भएर कार्य गरिरहन्छन् ।

निश्चय नै ओलीले त्यस्तो नयाँ केही आविष्कार गरेका होइनन् । के—के गर्न सकिन्छ भनेर ‘आइडिया’ लगाएका हुन् । तैपनि उनी हास्यका विषय बनिरहेका छन् ।

माथि भनिएझैं हालै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजावाहक जहाज तैरिन सक्छ भन्दा सामाजिक सञ्जालमा स्टाटस् लेख्दै, गिल्ला गर्दै खोलाको बाढीमा आधा डुबेको गाडीको चित्र राखेर व्यंग्य गर्ने देखापरे ।

तर ओलीसँग खुसी हुनुपर्छ, किनभने कोही त छ, जो सकारात्मक कुरा गरिरहेको छ । बन्छ, हुन्छ, गर्न सकिन्छ भनिरहेको छ । जहाँ सर्वत्र मानिस निराश भएर पलायन गरिरहेका छन्, देशमा बस्न चाहने युवाहरूभन्दा बस्न नचाहनेको संख्या दिनहुँ बढ्दो छ ।

विद्वानहरू नै अब यो देशमा केही हुँदैन भनेर पलायन गरिरहेका बेला, कुनै अन्य एक राजनीतिज्ञले देशमा आशा नदेखिरहेका बेला एक्लो ओली मुलुकमा असंख्य सम्भावना देखिरहेका छन् ।

आँट हेर्नुहोस् त जब आर्थिक वृद्धिदर ०.७७ प्रतिशतमा झरेको छ, उत्तिखेरै उनी वृद्धिदरलाई १० प्रतिशतभन्दा माथि उचाल्ने सपना बुन्दैछन् ।

निश्चय नै देशमा विकट समस्याहरू छन्, राजनीतिक अस्थिरतादेखि खाद्यान्न संकटसम्मका । संविधान सम्बन्धित विवाद, युवाहरूको पलायन, भारतसँग बिग्रँदो सम्बन्ध, कूटनीतिक अपरिपक्वता, झन्झटिलो प्रशासनिक संयन्त्र, आपूर्ति समस्या, कालोबजारी, सार्वजनिक यातायातको दुरवस्थाजस्ता अनगिन्ती समस्या छन् ।

तर यी समस्या जादुको भरमा समाधान हुँदैनन् । समग्र चिन्तन र सोही बमोजिम विधिनियमन चाहिन्छ तथा प्रत्येक तहमा कार्यान्वयनमा इमानदारीका साथै पूर्वाधारको निर्माण र विकासमा कल्पनाशीलता त्यतिकै आवश्यक पर्छ ।

कल्पनाशीलता सपनामा निहित हुन्छ । प्रशंसै भन्नुहोस्, कोही त छ, जो सपना बुन्छ । सपना बुन्ने मात्र होइन, अरुले खिसी गर्लान् भनेर चुप्प लागेर बस्दैन, बोलिरहन्छ । एकसेएक नयाँ योजना सार्वजनिक गर्छ ।

यस्ता ‘प्रशंसनीय उद्गार’ दशकौं यता सुन्न पाइएको थिएन । चिन्नेहरू भन्छन्, विश्वेश्वरप्रसाद कोइराला सपना बुन्थे । कम्युनिस्ट र राजावादी उनको खिसी गर्थे, गिल्ला गर्थे । तर हेर्नुहोस् त, तिनै बीपीका सपनाको भरमा देशमा बारम्बार क्रान्ति भएको र उनैको पार्टी अर्थात् नेपाली कांग्रेसले नै फेरि बारम्बार क्रान्तिको नेतृत्व गर्ने सुयोग प्राप्त गरेको छ ।

स्मरण रहोस्, संविधानसभा उनैको सपना थियो । त्यही सपनामा उभिएर आज देशले संविधान पाएको र त्यही संविधान अन्तर्गत केपीजस्तो अर्को ‘स्वप्नद्रष्टा’ प्रधानमन्त्री पाएको छ ।

हुन त २०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले पनि सपना नबुनेका होइनन् । मेलम्चीबाट पानी ल्याउने उनैको योजना थियो, उनैले भनेका थिए, काठमाडौंलाई सिंगापुर बनाउने कुरा तर उनैलाई निर्वाचनमा हराएका थिए, काठमाडौंका मतदाताले र जिताएका थिए, ओलीकै मार्गद्रष्टा मदन भण्डारीलाई ।

भण्डारी अर्का स्वप्नद्रष्टा थिए । उनले बहुदलीय जनवादको परिभाषा गरेर विश्वभरकै कम्युनिस्टहरूलाई ठूलो गुन लगाएका थिए ।

त्यही विचारको जगमा उभिएको छ, एमाले र त्यही पार्टीका अध्यक्ष पनि हुन्, वर्तमान प्रधानमन्त्री ओली । उनै भण्डरीकी पत्नी हुन्, वर्तमान राष्ट्रपति श्रीमती विद्या भण्डारी ।

सपनै त हो, नेपाल पृथ्वीनारायणको । उसबेला उनले सपना नबुनिदिएका भए यो नेपाल, यो देश, मातृभूमि के हुन्थ्यो, कस्तो हुन्थ्यो कुन्नी । बहादुर शाह, भीमसेन थापाले सरहद पुर्‍याएका थिए, कांगडासम्म । तर सुगौली सन्धिपछि लामो समयसम्म सपना बुन्न बिर्से नेपालीले ।

अहिले नेपालीका भुक्तमानको एउटा प्रमुख कारण त्यही हो, किनभने जबजब कसैले सपना बुन्यो, उसलाई हटाउने षड्यन्त्र रचियो । सपनै थियो, कुनै बेला गणतन्त्र पनि । त्यो सपनाको गिल्ला गर्ने, विरोध गर्ने यतिखेर गणतन्त्रमै आफ्नो भाग मागिरहेका छन् । जनआन्दोलनलाई क्रूरतापूर्वक दमन गर्ने कमल थापा ओलीकै सरकारमा परराष्ट्र मन्त्री छन् ।

अर्थात् कुनै महान सपना साकार हुँदा त्यसको प्रतिफल त्यसका विरोधीहरूले पनि पाउँछन् । जबकि सपना बुन्नेहरूचाहिँ परिबन्दवश पाखा पर्न सक्छन् । जे होस्, सपना बुन्नुलाई स्वागत गर्नुपर्छ ।

निश्चय नै देश राजनीतिक विवादमा अल्झिरहेको, भूकम्पपछिको पुनर्निर्माणले गति प्राप्त नगरिरहेका बेला सुखसुविधामा बसेका ओलीका ठूला कुरा सुन्दा झन्का छुट्नु स्वाभाविक हो । तर नेता स्वप्नदर्शी हुनुपर्छ, यो पनि त्यतिकै सत्य हो ।

हो, उनको कार्यकालमा त परै, जीवनकालमै हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज नचल्न सक्छ । उनले त आइडिया भर न लगाएका हुन् र असम्भव कुरा भनेका पनि होइनन् ।

नेपालको ध्वजावाहक पानीजहाज हुनै नसक्ने, गर्नै नसकिने काम होइन । त्यस्तै, हिमालय पारबाट रेलको लिक र त्यो लिकमा ट्ेरन गुड्दै काठमाडौं आउन नसक्ने होइन, सक्छ ।

भन्नलाई धेरैले भनिरहेका थिए, चीनसँग नेपालको पारवहन सम्झौतै हुँदैन । भयो त ।
म ओलीको प्रशंसक किमार्थ होइन । उनी सहज स्वप्नद्रष्टा होइनन् होला, तर नेपालीहरूलाई भौतिक, मानसिक र आध्यात्मिक दरिद्रताको साङ्लोबाट उन्मुक्ति दिलाउने पात्रको खोजी चलिरहेका बेला उनको कल्पनाशीलता मननयोग्य छैन भन्न मिल्दैन ।

किनभने फराकिला सडक, प्रचुर विद्युत उत्पादन, सञ्चारको सञ्जाल, रेल, अत्याधुनिक हवाइजहाज, ठूलठूला ड्याम अहिले सपना प्रतीत हुँदाहुन्, तर बीस वर्षपछि यी कल्पनाका पूर्वाधार यथार्थ बन्नैपर्छ । त्यस्तै समुद्रपार व्यापारमा सशक्त रूपमा हात हाल्न आफ्ना पानीजहाज हुनैपर्छ ।

त्यसैले यी विषयमा ओलीलाई हास्यका विषय बनाएर आनन्दित हुनु आफ्नो ठाउँमा छ, तर उनी जे भन्दैछन्, (सम्भव/असम्भव परीक्षण गरिएला नै) मुलुकले खोजेकै कुरा भन्दa l

No comments