Header Ads

यसरी हुँदैछ नेपालबाट भारतमा इन्धन तस्करी,तस्करलाई भएन कार्वाही l



बाँके, ३०भदौ । बाँकेको राप्तीपारीबाट दैनिक सयौँ लिटर पेट्रोलियम पदार्थ अवैधरुपमा भारततर्फ निकासी हुँदै आएको छ । सशस्त्र प्रहरी बलले ठूलो परिमाणको पेट्रोलयम पदार्थ नियन्त्रणमा लिएपनि बलियो कानूनको अभावमा कागज गराएर छाड्नुपरेको जनाएको छ ।

भारततर्फ पेट्रोलियम पदार्थ लैजानका लागि भारतीय ट्याक्टर र जर्किनको प्रयोग गर्ने गरिएका पाइएको छ । बाँकेको ग्रामीण क्षेत्रमा रहेका पेट्रोल पम्पबाट तस्करीको इन्धन बढीमात्रामा ओसार्ने गरिएको छ । भन्सार कार्यालयले नियन्त्रणमा लिएको पेट्रोलियम पदार्थ लिलामीमा लागि चासो नलिँदा समस्या हुने गरेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार राप्तीपारी कालाफाटामा पछिल्लो एकहप्तामा दुईपटक गरी चारहजार लिटर डिजेल र पेट्रोल सीमापारी लैजानेक्रममा नियन्त्रणमा लिइएको छ । भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएका कारण नेपालबाट तस्करी गरी भारततर्फ पेट्रोलियम पदार्थ लैजाने गरिएको पाइन्छ । नेपालमा सस्तोमा पाइने पेट्रोलियम पदार्थ भारततर्फ लैजानेमा सीमावर्ती क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख विनितमणी उपाध्यायले सशस्त्र प्रहरी वा अन्य सुरक्षा निकायले नियन्त्रणमा लिएको पेट्रोलियम पदार्थ नियमानुसार लिलामी गर्न सक्ने बताएl

यसअघि नेपालगञ्ज भन्सार कार्यालय र बर्दिया भन्सार कार्यालयले नियन्त्रणमा लिएको पेट्रोलियम पदार्थ निगमको क्षेत्रीय कार्यालय स्वयमले खरिद गरेको प्रमुख उपाध्यायले जानकारी दिए । भारततर्फ लैजान लागिएको पेट्रोलियम पदार्थमा निगम आफैले कारवाही गर्ने व्यवस्था नरहेको उनको भनाई छ । भारतमा भन्दा नेपालमा झण्डै १० रुपैयाँ पेट्रोलियम पदार्थ सस्तो रहेको छ । बढी नाफाका लागि नेपालबाट जर्किन र ट्याक्टरमा राखेर पेट्रोलियम पदार्थ भारततर्फ पुर्‍याउने गरिएको छ । गएको वर्ष नाकाबन्दीको समयमा भारतबाट दैनिक हजारौं लिटर पेट्रोलियम पदार्थ भित्रिने गरेकोमा अहिले अवस्था सहज भएपछि भारतमा नेपालतर्फबाट पेट्रोलियम पदार्थ अवैधरुपमा जान थालेको हो ।

खुला सीमाका कारण मूल्यमा समायोजन नगरेसम्म यसखालका समस्या रहिरहने जानकारहरु बताउँछन्l

No comments