Header Ads

एमाले केन्द्रीय कमिटी बैठक– ‘गुटबन्दी अन्त्य गर्दै निर्वाचनकेन्द्रित अभियान’



आश्विन ६, २०७३- एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण अभियान त्यसमै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष केपी ओलीले पेश गरेको ३२ पृष्ठ लामो प्रतिवेदनमाथि नौवटा समूह बनाएर बिहीबार छलफल भएको थियो । छलफलपछि प्रत्येक समूहले सुझाव बिहीबारको बैठकमा राखेका छन् ।

‘गुटबन्दी भाइरस हो, त्यसैले सबैले मिलेर गुटबन्दी समाप्त गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकमा आएको सुझाव उल्लेख गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘स्वाधीन र समृद्ध राष्ट्र निर्माण तथा तराई–मधेसको आर्थिक सामाजिक रुपान्तरणमा अभियान सञ्चालन गर्नुपर्ने बिषय पनि आएको छ ।’

यसअघि स्थायी समितिले नै गुटबन्दी अन्त्यका लागि अब प्यालन बनाएर चुनाव नगर्ने लगायतका निर्णय गरेको थियो । त्यो निर्णयलाई सबै समुहले सरकात्मक भन्दै त्यसको व्यावहारिक रुपमा कार्यान्वयन गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

‘गुटबन्दीबाट सबै वाक्क भइसकेको अवस्था हो, यो अन्त्यका लागि स्थायी समितिले गर्न खोजेको पहल ठीक छ यसलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा करिब सबैका एकमत जस्तो छ,’ केन्द्रीय सदस्य हिक्मत कार्कीले भने । ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेखित नाकाबन्दीको समाना, जनता केन्द्रित बजेट पेश भएको, छिमेकी भारत र चीनसँग ऐतिहासिक खालका सम्झौता गरेको लागयत बिषयमा केन्द्रीय सदस्यहरुले प्रशंसा गरेका छन् ।

तर प्रतिवेदनमा पार्टी कामको बिषयहरुलाई भन्दा बढी सरकारको कामको बारेमा मात्र उल्लेख गरिएको भन्दै आलोचना भएको छ । सरकारमा रहदा नै पार्टी भित्र एकलौटी ढंगले अघि बढ्ने, राम्ररी छलफल नगर्ने लगायतका गतिविधि नेतृत्वबाट भएको भन्दै त्यो पक्षलाई प्रतिवेदनमा उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका थिए ।

‘प्रतिवेदनमा धेरै बिषयमा राम्ररी आएका छन् तर सरकारका सकारात्मक काममात्र बढी आयो पार्टी काममा भएका गल्ती कमजोरीहरुलाई राम्ररी समेटिएन भन्ने धारणा पनि छन्,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने । गुटबन्दी अन्त्य गर्ने सैद्धान्तिक कुराहरु आए पनि त्यसलाई कार्यान्वयन गर्ने ठोस योजनाहरु नेतृत्वले अघि सार्नुपर्ने र बैचारिक ढंगले पनि पार्टीलाई कसरी अघि बढाउने हो त्यसको खाका पनि आउनुपर्ने सुझाव नेताहरुले दिएका छन् ।

तत्कालीन माओवादीसँग गठबन्धन निर्माण गरेर सरकारमा गए पनि त्यो गठबन्धन किन विघटन हुनपुग्यो भन्ने बिषयलाई अझै बढी विष्लेषणको आवश्यकता रहेको पनि नेताहरुको धारणा थियो । संविधान कार्यान्वयनका लागि दलहरु मिलेर जानुपर्नेमा माओवादीसँगको गठबन्धन जोगाउन किन सकिएन भन्ने ? प्रश्न केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका थिए । सरकारले ल्याएको बजेट र समृद्धिका योजनाले पार्टीको छवि उचालेको बुझाई केन्द्रीय सदस्यहरुको पनि छ । त्यो बिषयलाई पार्टीको पुँजीको रुपमा लिदै जनता समक्ष जानुपर्ने धारणा नेताहरुको छ ।

बिषेशगरी एमालेलाई पछिल्लो समय मधेस विरोधीका रुपमा चित्रण गर्न खोजिएको भन्दै त्यो भ्रम चिर्नका लागि पार्टीेले बिषेश ध्यान दिनुपर्ने सुझाव नेताहरुको थियो । अध्यक्षको प्रतिवेदनमा प्रस्तावित चार महिने जनपरिचालन अभियान, संविधान कार्यान्वयन र निर्वाचनका लागि पार्टीको तयारीको रुपमा व्यापक ढंगले अघि बढाउनुपर्ने धारणा पनि बैठकमा आएको थियो । समूहगत प्रस्तुतिबाट आएका प्रश्नहरुबारे ओलीले जवाफ दिनेछन् । त्यसपछि सुझावसहित प्रतिवेदन पारित हुनेछ ।





प्रकाशित: आश्विन ६, २०७३



No comments