Header Ads

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका पहलमा यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।



आश्विन ६, २०७३- यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएको हो । दूतावासमा मृतक एक सय ६० जनाका परिवारले क्षतिपूर्तिका लागि दाबी गरी निवेदन दिएको थियो । बाँकीका लागि पहल जारी छ ।

दूतावासका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार पीडित परिवारलाई ब्लड मनी (दिया रकम) र बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराएको हो । ‘क्षतिपूर्ति परराष्ट्र मन्त्रालय पठाइसकेको छ । पीडितले तोकिएको क्षतिपूर्ति परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने व्यवस्था गरी पठाएको छ,’ उनले भने, ‘क्षतिपूर्ति रकम लिन काठमाडौं आइराख्नु पर्दैन ।’

क्षतिपूर्ति पाउनेहरूमा लमजुङका बजेन्द्रप्रसाद गुरुङ ५१ लाख ६० हजार रुपैयाँ (एक लाख ७६ हजार ६६६ दिराम), चितवनका सोमराज महतोले ५८ लाख ४२ हजार रुपैयाँ (२ लाख दिराम), गोरखाका विमल न्यौपानेले ८७ लाख ६३ हजार रुपैयाँ (३ लाख दिराम), रूपन्देहीका अकबर अली खानले २९ लाख २१ हजार रुपैयाँ (एक लाख दिराम), गुल्मीका नीलबहादुर कामीले ४३ लाख ८१ हजार रुपैयाँ (एक लाख ५० हजार दिराम), तनहुँका यमबहादुर आलेले २१ लख ९० हजार रुपैयाँ (७५ हजार दिराम) रहेका छन् ।

त्यस्तै, सोलुखुम्बुका सोनाम माझीले १४ लाख ६० हजार रुपैयाँ (५० हजार दिराम), बाग्लुङका डम्बरबहादुर कार्कीले ५८ लाख ४२ हजार रुपैयाँ (दुई लाख दिराम), धनुषाका रामकुमार साह हलुवाईले ५८ लाख ४२ हजार रुपैयाँ (दुई लाख दिराम), कास्कीका दीपेन्द्र परियारले १४ लाख ६० हजार रुपैयाँ (५० हजार दिराम), चितवनका ज्ञानु गौतमले ५८ लाख ४२ हजार रुपैयाँ (२ लाख दिराम), संखुवासभाका रमेश लिम्बू ११ लाख ६८ हजार रुपैयाँ (४० हजार दिराम), ललितपुरका सन्तोष खड्काले ५८ लाख ४२ हजार रुपैयाँ (२ लाख दिराम), दोलखाका कृष्ण केसीले २७ लाख १६ हजार रुपैयाँ (९३ हजार दिराम), पाँचथरका इन्द्रबहादुर तामसुहाङले ५८ लाख ४२ हजार रुपैयाँ (२ लाख दिराम) ले क्षतिपूर्ति पाएका छन् ।

खोटाङका बाबुराम राईले ५८ लाख ४२ हजार रुपैयाँ (दुई लाख दिराम), नुवाकोटका नरेन्द्र लामाले २३ लाख ७ हजार रुपैयाँ (७९ हजार दिराम), पाल्पाका नीराजन काफ्लेले १४ लाख ६० हजार रुपैयाँ (५० हजार दिराम), रोल्पाका रुद्रबहादुर बुढाले १४ लाख ६० हजार रुपैयाँ (५० हजार दिराम), झापाका तुल्सीप्रसाद चापागाईंले ५८ लाख ४२ हजार रुपैयाँ (दुई लाख दिराम) र सिन्धुपाल्चोकका श्याम तामाङले ५८ लाख ४२ हजार रुपैयाँ (दुई लाख रियाल) क्षतिपूर्ति पाएका छन् ।

पछिल्लो ३ वर्षमा एक सय ८४ जना नेपालीको मृत्यु भएको थियो । जसमा प्राकृतिक कारणले ५६ प्रतिशत, २८ प्रतिशत दुर्घटना र १६ प्रतिशतले आत्महत्या कारणले मृत्यु भएको थियो । यूएईको कानुनअनुसार २८ प्रतिशतले क्षतिपूर्ति पाउने ग्यारेन्टी हुन्छ । प्राकृतिक कारणले ज्यान जानेको हकमा क्षतिपूर्ति पाउने सम्भावना भने न्यून हुन्छ ।
दूतावासले पीडित पक्षलाई अझ छिटो क्षतिपूर्ति दिलाउनका लागि वकिल राखेर ‘सिभिल केस’ मार्फत मुद्दा लड्ने तयारी गरेको अर्यालले बताए ।


No comments