Header Ads

स्थानीयवासीको लगानीमा कुश्माबजारमा सौर्य सडक बत्ती



फलेवास(पर्वत), ३१ भदौ । पर्वत सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ ।बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ ।

सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ । बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो ।एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु एक लाख लागत लागेको छ । एउटा बत्तीले ३० मिटर वरपर उज्यालो दिने बताइएको छ । कुश्माबजारको पुरानोबजारदेखि लोकतान्त्रिक चोक, मैत्री चोक, शिवालय चोक, प्रगति चोकलगायतका क्षेत्रमा बत्ती विस्तार गरिएको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।

स्थानीयवासीको सहभागिता गराउँदा उक्त सौर्य बत्तीको रेखदेख पनि हुने र दिगो रुपमा सञ्चालन हुने भएकाले स्थानीयवासीको सहभागिता गराइएको हो ।बजारवासीले घरधुरीअनुसार आ–आफ्नो टोलमा बत्ती जडान गर्न न्यूनतम रु एक हजारदेखि रु दुई हजारसम्म तिरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । अहिले १७ वटा पोलमा जडान गरिसकिएको र बाँकी रहेका ठाउँमा विस्तारै जडान गर्दै लगिने बताइएको छ ।

सदरमुकामको बडागाउँ क्षेत्र, मुलुककै अग्ला तीनवटा पुल, यान्त्रिक पुल क्षेत्रमा पनि सौर्य बत्ती जडानको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।यसअघि विद्युत्बाट केही ठाउँमा सडक बत्ती जडान भए पनि विद्युत्भार कटौतीका बेला प्रभावकारी नभएपछि र अँध्यारो भएका बेला बजारमा आपराधिक घटना बढ्दै जान थालेपछि सौर्य बत्ती जडानको अवधारणा ल्याइएको हो ।

अहिले विद्युत्भार कटौतीको समयमा पनि सडक भने झलमल्ल हुने गरेको छ । अँध्यारोको मौका छोपेर गैरकानुनी क्रियाकलाप गर्नेका लागि सौर्यबत्तीले ठूलो भूमिका खेलेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । उनले भने– “सडकमा चौबीसै घन्टा बत्ती बलेपछि व्यापारीले समेत ढुक्कले सुत्न पाएका छन् ।’’

कुश्मा बजार, पातीचैर र वारिबेनीमा सिसी क्यामेरासमेत जडान भइसकेको भए पनि रातिको समयमा हुने गतिविधि थाहा पाउन समस्या भएका बेला नगरपालिकाको पहलमा सौर्य बत्ती जडान भएपछि सहज भएको जिप्रका पर्वतले जनाएको छ ।अबदेखि कुश्मा बजारमा रातिको समयमा पनि आपराधिक र गैरकानुनी क्रियाकलाप गर्ने, होहल्ला गर्नेलाई सजिलै पक्राउ गर्न सकिने प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए। उनले अपुग भएका ठाउँमा पनि सौर्य बत्ती जडान गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

No comments