Header Ads

भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य प्रधानमन्त्री



नयाँ दिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । यहाँस्थित होटल ताजमा आज नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन । तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस् ।” उहाँले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल सुरक्षित लगानी गन्तव्य हो भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्छ । उहाँले नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ ।” प्रधानमन्त्री दाहालले भारतीय लगानी कर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाउनुभयो ।

त्यसैगरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै उहाँले बजारमा लगानी पनि आवश्यक छ भन्नुभयो । उहाँले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानी कर्ताले नेपालमा लगानी गर्नुपर्ने बताउनुभयो । डा महतले नेपालमा जलविद्युत्, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुहँुदै त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पार्नुभयो ।

सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गर्दै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गर्नु भयो । कार्यक्रममा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा रहेका लगानीका अवसरबारेमा भारतीय व्यापारी समुदायलाई जानकारी गराउनुभएको थियो l

No comments