Header Ads

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपतिको सन्देश -

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गनुभएको छ ।
आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्ने भन्दै यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्ने सन्देशमा उल्लेख छ ।
नेपाली जनताले पटकपटक गरेका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान, २०७२ ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
सन्देशमा भनिएको छ– ‘‘संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई समृद्ध नेपालको सपना बोकी देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा हामी सबैमाझ सुम्पेको छ ।’’
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ–‘‘राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्षमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अतिरिक्त बाह्य सहयोगसमेतको अत्याधिक सदुपयोग गर्दै कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रबद्र्धनमा केन्द्रित हुनुपर्दछ ।’’

No comments