Header Ads

आज सुुदूरपश्चिममा भगवान् श्रीकृष्णले राक्षस मारेको उत्सवका रुपमा बुढी पोल्ने पर्व मनाईंदै ::Read News>>

बैतडी, १ असोज - असोज संक्रान्तिका दिनलाई सुुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईंदै छ।

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ।

यो पर्वमा गाईबस्तुको हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लिङगो आदी रुखहरु काटेर बनाएको बुढीलाई असोज संक्रान्तिका दिन पोल्ने चलन छ। द्वापर युगमा राक्षसी पुतनाले राजा कंशको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाई उल्टै राक्षसी पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ।

जासुसी राक्षस पुतना दहनका लागि सबै घरबाट काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाँउमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउदै थुक्ने गर्दछन्। र समाजमा भएका ठूलाबढा व्यक्तिको नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ।

साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ। यसो गर्दा पुशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ। यो पर्व सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, अछाम, बाजुरालगायतका जिल्लाहरु र भारतको उत्तराञ्चलका कुमाउ गढवालमा पनि मनाउन चलन छ।

No comments