Header Ads

सामूहिक हत्याको सुनियोजित प्रयास : एमाले :पुरा जानकारी at:-



फाल्गुन २५, २०७३- प्रमुख प्रतिपक्षी एमालेले आफ्ना नेता–कार्यकर्ताको सामूहिक हत्या गर्ने सुनियोजित प्रयासअनुसार सप्तरी घटना भएको बताएको छ । एमालेले सोमबार राजविराजमा गरेको सभा बिथोल्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन जनाको ज्यान गएको थियो । ‘सभा सम्पन्न भएर अभियानमा सहभागी पार्टीका नेता र कार्यकर्ता राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हाली आक्रमण गरेर नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरियो,’ एमालेले भनेको छ, ‘यो नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्ण रूपमा सभा–सम्मेलन लगायतका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो ।’





सप्तरी घटनाका कारण निर्धारित अभियान स्थगित गरी राजधानी फर्केका एमाले शीर्ष नेताहरूले मंगलबार विशेष पत्रकार सम्मेलन गरेका थिए । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई बिथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गराइएको एमालेले उल्लेख गरेको छ । ‘मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम त्यस प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ एमालेले भनेको छ, ‘राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई मधेसमा फैलाइएका भ्रम नेकपा (एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसको ज्यान लिइएको छ ।’

कुनै पनि किसिमको बाधा व्यवधान हुन नदिन सरकार र प्रशासनलाई समेत आग्रह गरे पनि शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई बिथोल्न धम्की दिने, रोक्न त्रास फैलाउने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरूलाई मोसो दलेर अपमान गर्ने, सवारी साधन तोडफोड गर्ने, ठाउँठाउँमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गर्ने, कार्यक्रममा सहभागी नहुनका लागि घरघर पुगेर धम्क्याउने जस्ता निन्दनीय काम मधेसी मोर्चाका कार्यकर्ता भनिनेहरूबाट भएको एमाले नेताहरूले बताएका छन् । स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्वनिर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गर्दा पनि मधेसी मोर्चा सम्बद्ध मानिसले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने सुरक्षाकर्मीमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्ने जस्ता आततायी कार्य गरेको एमालेको भनाइ छ ।

शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग हुने क्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्ने एमालेले उल्लेख गरेको छ । अभियानमा सहभागी कतिपय कार्यकर्ता ढुंगा लागेर घाइते भएको, ५० भन्दा बढी गाडीमा क्षति पुगेको र आधा दर्जन मोटरसाइकलमा आगो लगाइएको एमालेले जनाएको छ । मोर्चा सम्बद्ध कार्यकर्ताले मंगलबार राजविराजको सभास्थल, सप्तरी र सिरहाको पार्टी कार्यालयमा आगजनी भएको भन्दै एमालेले आपत्ति जनाएको छ । धनुषामा पार्टीका नेता कार्यकर्तालाई जिल्ला छाड्न धम्की दिइएको, रौतहटमा कार्यकर्तालाई मोसो दल्ने र अन्य स्थानमा पनि आतंक सिर्जना गर्ने काम मोर्चाबाट भइरहेको एमालेले जनाएको छ ।

घटनाको निष्पक्ष छानबिनका लागि सरकारसँग एमालेले आग्रह गरेको छ । ‘सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ,’ एमाले भनेको छ, ‘सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रवैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँ यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।’





प्रकाशित: फाल्गुन २५, २०७३


No comments