Header Ads

लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी एमाले अध्यक्ष केपी अाेलीकाे पुतला दहन




फाल्गुन २४, २०७३- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलबार लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयबाट विहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरे । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।




मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायत जिल्लाको विभिन्न स्थानमा बिहानै देखि सडकमा टायर बालेर बिरोध प्रदर्शन गरे । मोर्चाका कार्यकर्ताहरुले लहानस्थित मालपोत कार्यालय र सिरहा सदरमुकाम सिरहा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा ढुंगामुढा गरी झ्यालका सिसाहरु फुटाएका छन् ।
विरोध प्रदर्शनको नेतृत्व गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले मंगलबार लहानबाट गिरफ्तार गरेको छ ।
प्रहरीले नेपाल सदभावना पार्टीका सहमहासचिव राजु गुप्ता, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्य नारायण यादव, पहिलो मधेस आन्दोलनका कमाण्डर कृष्ण बहादुर यादव, प्रयागलाल यादव, बैधनाथ साह, रोशन कुमार यादव, दिपेश यादव, दिलिप यादव, गुलाव राइन लगायत १३ जनालाई गिरफतार गरी इलाका प्रहरी कार्यालय लहानमा नियन्त्रणमा राखेको छ ।

केपी अाेलीकाे पुतला दहन

सप्तरीको मलेठमा प्रहरीको गोली लागेर तीनजना मारिएको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले लहानमा विरोध र्‍यालीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।
उनीहरुले इलाका प्रहरी कार्यालय अगाडि पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग गर्दै नाराबाजी समेत गरेका छन् । स्थानीय पशुपति आदर्श माविको प्राङ्गणबाट निस्किएको विरोध र्‍याली बजारका विभिन्न भाग परिक्रमा गरी शहीद रमेश महतो चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरुले सप्तरी घटनाको जिम्मेवारी एमालेले लिनुपर्ने जिकिर गर्दै शान्तिपूर्ण विरोध गरिरहेका निहत्था मधेसीहरुको निमर्मतापूर्वक हत्या गरेकाले स्वतन्त्र न्यायिक छानबिनको माग गरे । सद्भावना पार्टीका केन्द्रीय सदस्य रामबहादुर महतो, नेकपा क्रान्तिकारी माओवादीका सुरेन्द्र साह, तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य उदयनारायण यादव लगायतको नेतृत्वमा विरोध र्‍याली निस्किएको थियो ।

बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरेको बन्दका कारण मंगलबार सिरहाको जनजीवन प्रभावित भयो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, सदरमुकाम सिरहा बजारमा यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द रह्यो ।
यसैबिच सिरहाका एक दर्जन अधिकारवादी संघ संस्थाहरुले मंगलबार विज्ञप्ती जारी गरी राजनीतिक आन्दोलनमा प्रहरीले मोर्चाका कार्यकर्तामाथि गरेको दमनले व्यक्तिको बाँच्न पाउने अधिकार हनन् गरेको भन्दै घटनाको दोषीमाथि कार्वाहीको माग गरेको छ ।
मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), समग्र विकास सेवा केन्द्र, दलित जनकल्याण युवा क्लव, मानव अधिकार सञ्चार प्रतिष्ठान, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, महिला मानवअधिकार रक्षक सञ्जाल, सहयोगी हातहरु, नेपाल मानव अधिकार संगठनले विज्ञप्ती जारी गरि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित: फाल्गुन २४, २०७३




No comments