Header Ads

भूकम्प पीडित सोध्छन्, ‘हामीलाई दोस्रो किस्ता खोइ ?’


- प्राधिकरणबाट ढिलासुस्ती
- गाउँमा इन्जिनियर नबस्दा समस्या
- मापदण्डअनुसार घर पनि बनेनन्


- सुदीप कैनी, नगेन्द्र अधिकारी, अनिश तिवारी, गोरखा/काभ्रे/सिन्धुपाल्चोक






फाल्गुन २४, २०७३- पुनर्निर्माणका लागि पहिलो किस्ता पाएका उपत्यकाबाहिरका ४ लाख ७० हजार ७७ भूकम्पपीडितमध्ये ७ सय ९८ ले मात्र दोस्रो किस्ता पाएका छन् । प्राधिकरणले ढिलासुस्ती गर्दा, गाउँमा इन्जिनियर नबस्दा र प्रभावित आफैंले समेत मापदण्डअनुसार घर नबनाउँदा ढिलाइ भएको हो ।


‘घर बनाएर सकिन लागिसक्यो, दोस्रो किस्ताको पैसो पाउने सुरसार छैन,’ गोरखाका भूकम्पपीडित सोमबहादुर गुरुङले भने, ‘प्राधिकरणको झन्झटिलो प्रक्रियाका कारण दोस्रो किस्ता रकम पाउन ढिलाइ भयो ।’ गोरखामा ५० हजार अनुदान पाएका भूकम्पपीडितमध्ये दोस्रो किस्ता माग गर्नेको संख्या निकै न्यून छ । पहिलो किस्ता लिएका करिब ५२ हजार पीडितमध्ये १ सय ५३ ले मात्रै दोस्रो किस्ताको रकम पाएका छन् । तीमध्ये पनि १७ ले मात्र सरकारी अनुदानको रकम पाएका हुन् भने बाँकीलाई घर निर्माण गर्न गैरसरकारी संस्थाले अनुदान रकम उपलब्ध गराएका हुन् । करिब ४ हजार पीडितले दोस्रो किस्ताको १ लाख ५० हजार माग गर्दै निवेदन दिएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले बताए ।








भूकम्पमा क्षति पुगेका करिब ६० हजार घरमध्ये ६ हजार मात्र पुनर्निर्माणको चरणमा रहेको तथ्यांक छ । इन्जिनियरले अध्ययन गरी नसकेका कारण दोस्रो किस्ताको रकम दिन ढिलाइ भएको उनको भनाइ छ । ‘घर निरीक्षण गर्ने फारम भर्खर आएको छ,’ उनले भने । मसेल, पन्दुङ र जौवारीका केहीले मात्र दोस्रो किस्ताका रकम पाएका हुन् । कार्यालयले २ सय ७९ घरधुरीलाई मात्र दोस्रो किस्ताको अनुदान दिन सिफारिस गरेको छ । निर्माण सामग्री र मजदुर अभावले पनि घर निर्माणलाई तीव्रता दिन नसकेको पीडितको भनाइ छ । पीडितले सरकारले तोकेको मापदण्ड पूरा गरेर घर निर्माण नगरेको इन्जिनियरहरूको भनाइ छ । ‘९५ प्रतिशत घरले मापदण्ड पूरा गरेका छैनन्,’ उनले भने, ‘अहिलेको कार्यविधि संशोधन नगरे दोस्रो किस्ताको रकम पाउने पीडितको संख्या निकै थोरै हुनेछ ।’ गत कात्तिकमा जारी निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि २०७३ परिमार्जन हुनुपर्ने उनले बताए ।


निजी घर निरीक्षणका लागि गाउँमा खटिएका प्राविधिकले आफूहरूलाई उपलब्ध सेवासुविधामा असन्तुष्टि जनाउँदै राजीनामा दिने क्रम रोकिएको छैन । १ सय २६ इन्जिनियरमध्ये करिब सय जनामात्रै कार्यरत रहेको भवन डिभिजन कार्यालयले जनाएको छ । पुनर्निर्माणको काम अत्यन्त सुस्त भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्वीकार गरे । ‘निजी घर बनाउने कामलाई कसरी तीव्रता दिन सकिन्छ भनेर योजना बनाउने तयारीमा छौं,’ उनले भने । दोस्रो किस्तालाई पीडितले माग नगरेको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए । ‘दोस्रो किस्ता दिन २ अर्ब पैसा छ,’ उनले भने, ‘पीडितले घर नै बनाउनु भएको छैन, टहरामै रमाउन थाल्नुभयो ।’


गैरआवासीय नेपाली संघ (एनआरएन) ले थालेको पुनर्निर्माणअन्तर्गत लाप्राक गुप्सीपाखामा नेपाली सेनाले पनि सहयोग गरेपछि घरको जग खन्ने काम थालिएको छ । त्यहाँ एउटै प्रकृतिका ५ सय ७३ घर बनाउन सेनाले पनि सहयोग गर्ने प्रधानसेनापति राजेन्द्रकुमार क्षत्रीले प्रतिबद्धता जनाएका थिए । सेनाको ३९ जनाको टोली लाप्राक पुगिसकेको छ । रणसिंह दलका गणपति पर्वतराज गिरीले घर बनाउने काम सुरु भएपछि सेनाले श्रमदान गर्ने बताए । आठ महिनामा काम सक्ने योजना रहेको एनआरएनका उपाध्यक्ष कुमार पन्तले बताए ।




जिविसमै थन्कियो एक अर्ब

काभ्रे खहरेपाँगु–७ का श्यामसुन्दर मुल्मीले अनुदानको ५० हजार रकम पाए पनि घर बनाउन थालेका छैनन् । ‘काम गर्ने कर्मी नै पाइँदैन,’ उनले भने, ‘दक्ष कामदार अभावमा घर निर्माण थाल्न पाइएको छैन ।’ उनका अनुुसार गिट्टी, बालुवा, काठलगायत सामग्रीको पनि अभाव छ । गाउँमा सबैको घर भत्किएकाले कामदार पाइँदैन । पाइहाले पनि ज्याला महँगो छ । मुल्मीले भने, ‘एकातिर लागत बढ्यो, अर्कोतिर जति तिर्छु भन्दा पनि काम गर्ने मान्छे पाइँदैन ।’ सीप भएकाहरू रोजगारीका लागि विदेश र सहर पसेपछि गाउँमा कामदारको अभाव छ ।


सहरी विकास मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईका उपप्रमुख अशोक अधिकारीका अनुसार ६१ हजार २ सय १४ को खातामा पहिलो किस्ताको अनुदान रकम गए पनि हालसम्म ४ हजार २ सय २३ जनाले मात्रै निर्माण सुरु गरेका छन् ।


पहिलो किस्ताबापतको रकम दसैं लगायतका चाडपर्वमा खर्च भएकाले धेरैजसो पीडितले घर बनाउन नसकेका हुन् । कात्तिके देउराली–९ का जगनिधि चौलागाईंले ५० हजार रकम घडेरी खार्दै सकिएकाले घर निर्माण थाल्न नसकिएको बताए । ‘५० हजार घडेरी सम्याउँदै सकियो, कसरी घर निर्माण सुरु गर्न‘ ?’ उनले भने ।


चार हजारभन्दा बढीले दोस्रो किस्ता रकम माग गरे पनि प्रक्रिया सुरु नहुँदा वितरणका लागि आएको ९९ करोड ५८ लाख ५० हजार रकम जिल्ला विकास समितिको खातामै थुप्रिएको छ । गाविसमा खटिएका इन्जिनियरले भूकम्पप्रतिरोधी सिफारिस गरेर सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक सुपरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिविसमार्फत गाविसले दोस्रो किस्ताको वितरण गर्छ । ‘५ प्रतिशत घरको नमुना परीक्षण गरेर मात्रै प्रमाणित गर्न‘पर्छ भन्ने निर्देशन छ, तर त्यसका लागि स्रोत र जनशक्ति नै छैन,’ सहरी विकास मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर अष्टलाल सुवालले भने, ‘निरीक्षण गरेपछि मात्रै दोस्रो किस्ताका लागि सिफारिस गर्न सकिने भएकाले केही समय लाग्ने देखियो ।’ जिल्ला विकास समितिका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले माग भएर आउनेबित्तिकै निकासा दिने बताए ।


सापिङ गाविसका शिवप्रसाद ढुंगानाले एक वर्षअघि नै घर बनाइसके तर दोस्रो किस्ताबापतको रकमसमेत पाएका छैनन् । ‘यो सरकारको के भर पर्न‘, त्यही भएर ऋण गरेर भए पनि बनाएँ,’ उनले भने, ‘सबै नापजाँच गरेर पनि गए, निवेदन दिएको पनि एक महिना भयो तर पैसा पाइएको छैन ।’ उक्त गाविसमा खटिएका इन्जिनियर सुनील चौधरीका अनुसार अनुदान नपाए पनि धेरै परिवारले घर बनाउन थालेका छन् ।


‘पहिलो किस्ता लिएकाले ऋण गरेर पनि बनाएका छन्, सुरु गरेपछि रोक्ने कुरा हुँदैन,’ उनले भने, ‘दोस्रो किस्ता कहिले आउँछ भनेर दैनिक फोन गर्छन् ।’ भवन डिभिजन कार्यालयका इन्जिनियर अधिकारीका अनुसार जिल्लाभर ७० जनाले घर बनाइसकेको तथ्यांक छ । गैरसरकारी संस्थामार्फत ६० घर पनि बनेका छन् ।


अघि बढेन पुनर्निर्माण

सिन्धुपाल्चोकमा पहिलो किस्ता पाएका ७४ हजार ९ सय १२ मध्ये चार हजार ४ सय ८८ पीडितले घर बनाएका छन् । हालसम्म ९ सय ४९ ले मात्र दोस्रो किस्ता माग गरेका छन् ।


अहिलेसम्म ६ हजार परिवारले आवास बनाउन थालेको सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । गैरसरकारी संस्थाको तर्फबाट गोल्चे, गुम्बा, साँगाचोक, फुल्पिङडाँडाका ४ सय ४३ परिवारले दोस्रो किस्ता पाएका छन् ।


पीडितले कामदार अभाव, महँगीका कारण घर बनाउन सकेका छैनन् । दोस्रो किस्ता पाएकाले इन्जिनियरको ढिलासुस्तीका करण पनि घर बनाउन सकेका छैनन् । घरको ढाँचामा भएको अन्योल र अलमलले धेरै पीडितले आवास बनाउने काम सुरु गर्न नसकेको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताए ।


‘पाँच प्रतिशतभन्दा बढी पुनर्निर्माण अगाडि बढेको देखिएन,’ सहरी डिभिजन निमित्त प्रमुख टंक गौतमले भने, ‘दुई प्रतिशतले मात्रै मापदण्ड पुर्‍याएर संरचना बनाएका छन् ।’ उनले निर्माण भएका ९ सय ४९ घरमध्ये ८५ को मात्रै प्रमाणित भएर आएको बताए । इन्जिनियरले घरको अध्ययन नगरिसकेकाले दोस्रो किस्ता वितरण गर्न ढिला भएको पनि उनले बताए । पुनर्निर्माणमा जिल्लाभर ३ सय ६ प्राविधिकको दरबन्दी भए पनि इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर गरी २ सय ५३ मात्रै कार्यक्षेत्रमा गएका छन् ।





‘थन्कियो पैसा’


– गोविन्द पोखरेल

प्रमुख कार्यकारी अधिकृत
पुनर्निर्माण प्राधिकरण


दोस्रो किस्ताका लागि डेढ महिनाअघि नै बजेट निकासा भइसकेको छ । करिब ८ अर्ब ३२ करोड रुपैयाँ दोस्रो किस्ता दिने भनेर निकासा भएको हो । तर हालसम्म निकै कमले मात्रै दोस्रो किस्ता माग गरेका छन् । जस्तो कि धादिङले लगेको २२ करोड पनि यत्तिकै थन्किएको छ । दोस्रो किस्ता नजानुमा मुख्य दुई कारण छन् । पहिलो त धेरैले पहिलो किस्ता लिएर घर निर्माणका लागि गर्नुपर्ने कामै गरेका छैनन् । दोस्रो घर बनाएकाहरूले पनि मापदण्डअनुसार बनाएका छैनन् । घर नबनाएका वा मापदण्ड नपुगेकाले दोस्रो किस्ता पाउँदैनन् । हालसम्म करिब १० हजारले मात्रै दोस्रो किस्ता लगेको देखिन्छ । अब मापदण्ड नपुगेकालाई पनि रेट्रोफिट गरेर सुरक्षित बनाउने गरी डिजाइन जिल्ला–जिल्लामा पुर्‍याउने तयारी छ । सबैले सरकारले दिएको अनुदान पाऊन् भन्ने हो ।






प्रकाशित: फाल्गुन २४, २०७३



No comments