Header Ads

अपडेट : जाजरकोटमा भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या २४ पुग्यो, ३७ जना घाइते

मृतकमध्ये १६ को सनाखत, घाइतेले समयमै उपचार नपाएको भन्दै आफन्त आक्रोसित


चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको भनाइ














फाल्गुन २६, २०७३- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते २८ जनालाई रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंजतर्फ थप उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । दुर्घटनामा लहँ-४ का रामबहादुर बस्नेत, भेरीमालिका-४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा-५ का नन्दलाल जैसी, सीमा-९ का मदन पुन, मजकोट-७ का दले तिरुवा, दशेरा-२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी-४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढा लगायतको २४ को मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइतेलाई उपचारको लागि जिल्ला बाहिर नलिँदा घाइतेका आफन्त आक्रोसित बनेका छन् । सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाइतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीय अमरजंग शाहीले बताए । घाइतेको उपचारमा बेवास्ता भएको स्थानीय शाहीले बताए । गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंजतर्फ लैजाने भने पनि बिहीबार राति १० बजेसम्म हेलिकप्टर नआएको उनले बताए ।

सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट दिउँसो ४ बजे साल्माको खारा बजारका लागि छुटेको भेरीगंगा यातयात व्यवसायी समितिको उक्त बसमा ६१ यात्रु सवार भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा रहेको छ । घटनामा २४ को मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । गम्भीर घाइतेहरुको अवस्था चिन्ताजनक भएको उनले बताए । जाजरकोट अस्पतालमा उपचार नहुने भएपछि गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लगिएको उनले बताए । मृतक र घाइते धेरैको सनाखत हुन नसकेको प्रनाउ रिमालले बताए ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले उद्धार गरेको उनले बताए । क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्रगतिमा गुडेको गाडी चालकको नियन्त्रण बाहिर जानु दुर्घटनाको प्रमुख कारण भएको प्रनाउ रिमालले बताए । बस दुर्घटनामा चालकको लापरबाही भएको उनले बताए । यसअघि २०७० सालमा छिन्चु जाजरकोट सडक खण्डको रावतगाउ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ को ज्यान गएको थियो ।


No comments