प्रधानमन्त्रीको भ्रमणलाई नजिकबाट हेरिरहेका छौं: एमाले (भिडियोसहित)
३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले नजिकबाट नियालिरहेको बताएको छ । प्रधानमन्त्री प्रचण्ड भारत गएकै दिन बिहीबार बसेको एमालेको स्थायी कमिटीको बैठकले भारत भ्रमणको समय छनौट उपयुक्त नभएको बताएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकमा यो भ्रमणमा देश र जनतालाई अहित हुने कुनै पनि काम नहोस् भन्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीको भ्रमणबाट धेरै अपेक्षा नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नयाँ सरकार बनेको एक डेढ महिनाभित्रै यति धेरै प्राथमिकताका साथ भ्रमण गरिहाल्नु पर्ने र त्योभन्दा अगाडि विशेष दूतहरु पठाएर जानु पर्ने अवस्था होइन ।’
एमालेले भ्रमणको समय चयन पनि उपयुक्त नभएको बताएको छ । ‘देशभित्रका समस्या समाधानमा केन्द्रित हुनु पर्दथ्यो,’ ज्ञवालीले भनेका छन्, तर पनि भ्रमण सुरु भइसकेको अवस्थामा देशलाई नोक्सान हुने कुनै पनि काम नहुने भन्नेमा छलफल गरेका छौं ।’
साथै देशलाई अहित हुने कुनै काम त हुँदैन भनेर एमालेले प्रधानमन्त्रीको भ्रमणलाई नजिकबाट नियालिरहेको उनले बताए ।
आगामी असोज ५ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीस्वरुप बसेको बैठकमा नेताहरुले निर्वाचन गरेर संविधानको कार्यान्वयनका लागि दबाव दिन देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा जेष्ठ कम्युनिष्ट मञ्च गठन, केन्द्रीय सल्लाहकार परिषद् विस्तार र विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीको सदस्यता लिएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिने विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेन ।
Post a Comment