Header Ads

लोकमानविरुद्ध सर्वोच्चले फाइल खोल्यो, नियुक्तिको कागजात नदिए कारबाही



३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । साथै उनकोे नियुक्ति सम्वन्धी कागजात लुकाए सरकारलाई पनि कारबाही गर्ने बताएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले पुनरावलोनका लागि निस्सा हुने निर्णय सुनाएको हो ।

लोकमानलाई अख्तियार प्रमुख नियुक्त गर्न रोकिपाउँ भन्दै अर्यालले रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चले कायम मुकायम प्रधानन्यायाधीशले सपथ खुवाएको र लोकमान नियुक्त भइसकेको भन्दै खारेज गरेको थियो ।

तर, अर्यालले आफूले कार्कीको योग्यता पुग्दैन भनेर मुद्दा हालेपछि संवैधानिक छ छैन भनेर फैसला गरिएको दाबी गर्दै तथ्यमा प्रवेश गरेर हेर्न मागसहित पुनरावलोकन दिएका थिए । लगत्तै सर्वोच्चले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले भूकम्पमा उक्त फाइल हरायो भन्ने जवाफ पठायो ।

सरकारी जवाफपछि शुक्रबार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले पुनरावलोनकनका लागि निस्सा सुनाएको छ ।

No comments