Header Ads

लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमै



आश्विन ३, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहेको खुलेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए ।

‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं,’ मुख्य सचिव सुवेदीले कान्तिपुरसँग भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तल–माथि परेको होइन ।’

कार्कीविरुद्ध परेको रिट पुनरावलोकनका क्रममा सर्वोच्च अदालतले भदौ १० मा फाइल झिकाउने आदेश दिएको थियो । त्यसमा प्रतिउत्तरपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले ‘भूकम्पका कारण फाइल भेट्टाउन नसकिएको र खोजी भइरहेको’ लिखित जवाफ दिएका थिए । ‘गत वर्षको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुग्न गई भवन सरेकाले उल्लिखित फाइल फेला पार्न नसकिएको हुँदा फेला पर्नासाथ उपलब्ध गराइने व्यहोरा निर्णयानुसार अनुरोध छ,’ सर्वोच्चलाई पठाइएको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भनेको थियो ।

उक्त जवाफप्रति असन्तुष्ट भई सर्वोच्चले गत शुक्रबार ७ दिनभित्र फाइल नबुझाए कानुनअनुसार कारबाही हुने आदेश दिएको थियो । कार्कीलाई नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय त्रुटिपूर्ण भएको दाबीका साथ परेको रिटमा सर्वोच्चले सम्बन्धित कागजात मागेको थियो ।

‘भ्रमणले सम्बन्ध सुदृढ’
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका उपलब्धिबारे सदस्यहरूलाई सुनाएका थिए । ‘भारतीय प्रधानमन्त्रीसँगको वान टु वान र अन्य भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको आफूले पाएको प्रधानमन्त्री दाहालले सुनाउनुभयो,’ बैठकपछि संस्कृति एवं पर्यटनमन्त्री जीवनबहादुर शाहीले बताए ।

भ्रमणका क्रममा हुलाकी राजमार्ग र भूकम्पपीडितलाई थप सहयोगसम्बन्धी निर्णयलाई समेत दाहालले उपलब्धिपूर्ण बताएका थिए । पर्यटनमन्त्री शाहीले पेस गरेको कर्णाली क्षेत्रका लागि हवाई भाडा घटाउने प्रस्तावसमेत बैठकले पारित गरेको छ ।


No comments