Header Ads

दशैंलाई नयाँ नोट : दैनिक झन्डै ४६ करोड रुपैयाँको नयाँ नोट सटही


money

काठमाडौं,२० असोज । दैनिक करिब ४६ करोडका नयाँ नोट साटिन्छन् । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रत्येक दिन सर्वसाधारण नागरिकले दैनिक ४६ करोडका नयाँ नोट साट्ने गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– सर्वसाधारणले केन्द्रीय बैंकबाट आइतबारदेखि नै नयाँ नोट साट्न सुरु गरेका हुन् । आइतबार थापाथलीबाट २३ करोडका नयाँ नोट साटेका थिए । नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

सोमबार ४५ करोडका, मंगलबार ५० करोडका नयाँ नोट साटेर लगेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । नयाँ नोट वितरण सुरु गरिएको चौथो दिन बुधबार करिव ५५ करोडका नयाँ नोट साटिएको अनुमान राष्ट्र बैंकले गरेको छ ।

उक्त दिन कति रकमको नयाँ नोट बाँडियो , त्यसको वास्तविक विवरण राति ११ बजेतिर मात्र आउने भएकाले पूर्वानुमान मात्र गरिएको उसको भनाइ छ ।

सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीबाट मात्र चार दिनमा १ अर्ब ८५ करोडका नयाँ नोट साटिसकेका छन् । औसतमा प्रत्येक दिन करिब ४६ करोडका नयाँ नोट साट्ने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंक थापाथली बाहेक अन्य ७ शाखाबाट पनि नयाँ नोट दिइरहेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी संस्थामार्फत पनि ठूलो मात्रामा नयाँ नोट सर्वसाधारणले साट्दै आएका छन् ।

No comments