Header Ads

‘अलेप्पो हवाई हमलामा ४५ को मृत्यु’



सिरियाको अलेप्पो शहरमा हालैका महिनायता भएका भीषण हवाई हमलामा कम्तीमा ४५ जनाको ज्यान गएको बताइएको छ।

गत हप्ताको युद्धविरामपछि भएको सबैभन्दा ठूलो हवाई हमलापछि शहरको विद्रोही नियन्त्रित क्षेत्रभर नै आगो लागेको जस्तो देखिएको बताइएको छ।

देशका अन्य भागमा पनि भिडन्त भएका जानकारी प्राप्त भएको छ।

अभियानकर्ताहरुले भनेका छन्, अलेप्पो शहरको विद्रोही नियन्त्रित क्षेत्रमा गएराति केही महिनायताकै सबैभन्दा भीषण हवाई हमला भएको छ।
घेराबन्दी

एएफपी समाचार एजेन्सीका एकजना पत्रकारले जनाएअनुसार त्यहाँको बुस्तान अल कस्र क्षेत्रमा उनी बस्ने घर नजिकैको बाटोमा आगो फैलाउने बमका कारण पूरै क्षेत्रमा आगो फैलिएको छ।

दक्षिणी क्षेत्रमा पनि भिडन्त चर्केको छ जहाँ विद्रोही लडाकुहरुले सरकारी सेनाको घेराबन्दी तोड्ने प्रयास गरिरहेका छन्।

कुनै समय सिरियाको वाणिज्य तथा औद्योगिक केन्द्रका रुपमा रहेको अलेप्पो शहर सन् २०१२ यता दुई भागमा विभाजित भएको छ।

सरकारी सेनाले शहरको पश्चिममा कब्जा जमाएका छन् भने पूर्वी भाग विद्रोहीहरुको नियन्त्रणमा छ।

उक्त शहरलाई नियन्त्रणमा लिन भइरहेको लडाइँमा झण्डै २० लाख मानिसहरु फसेका छन्।

उनीहरुसम्म अत्यावश्यक राहत सामाग्रीहरु पुर्याउने उद्देश्यका साथ गत हप्ता संयुक्त राज्य अमेरिका र रुसको मध्यस्थतामा युद्धविराम भएको थियो।
स्थगित


तर त्यसबीचमा अलेप्पोमा कुनै राहत सहायता पुर्याउन भने सकिएको थिएन।

सोमबार राहत सामाग्री बोकेका राष्ट्रसंघीय सहायता निकायका सवारी साधनहरुको जत्थामा र सिरियाली अरब रेड क्रेसन्ट संस्थाको गोदाममा हवाई हमला भएपछि राष्ट्रसंघले सिरियामा आफ्ना सबै राहत वितरण अभियान स्थगित गरेको थियो।

तर बिहीबार बोल्दै एकजना राष्ट्रसंघीय प्रवक्ताले राजधानी दमस्कस नजिकैको उपनगरीय क्षेत्र मुआध्मियामा घेराबन्दीमाझ फसेका ४० हजार मानिसहरुका निम्ति राहत सामाग्रीहरु पठाइएको बताएका छन्।

यो महिना त्यहाँ वितरण गर्न सकिएको यो नै महत्वपूर्ण राहत सामाग्रीको पहिलो ठूलो खेप हो।

सिरियाका लागि राष्ट्रसंघीय सहायता टोलीका प्रमुख यान एगल्याण्डले भनेका छन्, सिरियाली सरकारले त्यस्ता प्रकृतिका राहत सामाग्री वितरणका लागि थप अनुमतिपत्रहरु जारी गरिरहेको छ।

तर अलेप्पोमा चर्को घेराबन्दीका कारण फसिरहेका लाखौं मानिससम्म भने हालसम्म कुनै राहत पुग्न सकेको छैन।

No comments