Header Ads

अब लाइसेन्सको ट्रायलमा फेल भएपछी ३ महिना कुर्नु नपर्ने, लाइसेन्स् लिने उमेर पनि हेरफेर



काठमाडौं, २७ भदौ – यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का केहि बुँदा संशोधन गर्नका लागि प्रस्ताव गरिएका प्रस्तावित मस्यौदा आइतबार मन्त्रालयमा पठाएको छ । अब यससंगै लाइसेन्सको ट्रायलमा फेल भएपछी ३ महिना कुर्नु नपर्ने भएको छ, यदि तपाई लाइसेन्सको ट्रायलमा फेल हुनु भयो भने यस संसोधनसंगै १ महिनामै पुन ट्रायल दिन पाउनु हुने छ ।

यस मस्यौदामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिएर फेल भएकाले १ महिनापछि नै पुन: ट्रायल दिन पाउने प्रस्ताव उल्लेख गरिएको छ । त्यसका लागि फेल भएको एक महिनाभित्र आवेदन दिन सकिने छ । हाल ट्रायल फेल भएकाले ९० दिन अर्थात ३ महिनासम्म ट्रयाल दिन नपाउने कानुनी व्यबस्था रहेको छ । ऐनको संशोधन मस्यौदामा भने ३० दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

पहिलेको व्यवस्थाका कारणले उपभोक्ताले धेरैलाई सास्ती व्यहोर्नु परेको हुँदा यातायात ब्यवस्था विभागले ३० दिनमै फेरि ट्रायल दिन पाउने प्रस्ताव मन्त्रालयमा पठाएको छ ।

विभागले पठाएको यो संशोधन प्रस्ताव मन्त्रालयमार्फत संसदमा पेश हुनेछ । संसदको बहुमतले पारित गरेपछि यो लागू गरिने छ ।

यातायात ऐनमा संसोधनका लागि प्रस्तावित महत्वपूर्ण बुँदाहरु यसप्रकार छन् ।

– लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्- व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स लिनुपर्नेछ। व्यक्तिगत प्रयोजनका लागि भने गैरव्यवसायिक लाइसेन्स लिनुपर्नेछ।

– सार्वजनिक सवारीलाई व्यवसायिक सवारी भनिनेछ। व्यवसायिक सवारी यात्रीवाहक र मालवाहक गरी दुई प्रकारको हुनेछ।

– उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गरिने छैन।

– सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, लामो रुटमा प्रत्येक छ घण्टामा चालक परिवर्तन नगरे, निजी सवारी साधनले भाडाको यात्री बोके सवारी साधन दर्ता इजाजतपत्र निलम्बन गरिनेछ।

– ठूलो सवारी साधनको लाइसेन्स लिन न्यूनतम उमेर २१ वर्षको ठाउँमा २५ वर्ष

– मझौला र सानो सवारी साधनको लाइसेन्स लिन १८ वर्षको सट्टा २१ वर्ष राख्ने।

– मोटरसाइकल तथा सानो दुई पाङ्ग्रे सवारी साधनका लागि १६ वर्षको साटो १८ वर्ष राख्ने।

– एक पटक लाइसेन्स पाइसकेको चालकले अर्को सवारी साधनको लागि थप लाइसेन्स लिन लिखित परीक्षा लिइने छैन।

– लाइसेन्स परीक्षामा एक पटक असफल भएकोले पुनः परीक्षा दिन तीन महिनासम्म नपाउने व्यवस्था भइआएकोमा अब एक महिनासम्म बनाइएको छ।

– लाइसेन्सको म्याद पाँच वर्ष रहँदै आएकोमा अब १० वर्ष बनाइने।

– नवीकरण पनि १० वर्षको हुनेछ

– सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, रुट इजाजत नलिएको बाटो सवारी चलाए, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मापसेबाट एक पटक भन्दा बढी सजाय पाइसकेको भए लाइसेन्स निलम्बन गर्न सकिनेछ।

– लापरवाहीका कारण सवारी दुर्घटनाबाट मानिसको अङ्गभङ्ग भए वा मृत्यु भए लाइसेन्स खारेज हुने।

– प्रशिक्षार्थी सवारी चालक सम्बन्धी व्यवस्था गरिनेछ।

– सवारी साधनमा रंगीन शिशा राख्न नपाइने।


No comments