Header Ads

दशैंमा अरु घर फर्कन्छन्, तर बझाङका विद्यार्थी मजदुरी गर्न भारत पस्छन् -



काठमाडौं, ८ असोज । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् । तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कन्छन् ।

अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे ।

बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए । त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौमा पढ्ने ललित महराले जानकारी दिए ।

ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए । यसपाली पनि कमाउन हिँडेको उल्लेख गर्दै उनले आफ्नो टोलीमा कक्षा ९ मै पढ्ने दीपेन्द्र बोहरा र सुरेन्द्र बोहरा, कक्षा ८ का दीपक महर र धन बोहरालगायत रहेको जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट


No comments