Header Ads

यहि मंगलबारदेखि अमेरिकी डिभी आवेदन खुला, यसरी आफै भर्न सक्नुहुन्छ डिभी-



काठमाडौं, १२ असोज – सन् २०१८ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) यहि असोज १८ गते मंगलबारको दिन देखि खुला हुने भएको छ। काठमाडौंस्थित नेपालको लागि अमेरिकी दूताबासले हिजो सूचना जारी गर्दै अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुल्ला हुने र यसको अन्तिम म्याद कातिक २२ गते सम्म हुने बताएको छ ।

दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, दूतावासले भनेको छ, ‘सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।’

अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ । ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ ।

आगामी वैशाख १९ गते मंगलबार २०१८ को डिभी नतिजा आउने छ ।
यसरी आफै भर्न सकिन्छ डिभीः

डिभी–२०१८ कार्यक्रममा लागि विद्युतीय आवेदन दर्ता गर्ने प्रक्रिया

पहिले www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 भर्नुहोस् । पूर्णरूपमा नभरिएका आवेदनहरूलाई स्वीकारिने छैन । आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन । आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ । यसलाई प्रिन्ट गर्नुहोस् र सुरक्षित राख्नुहोस । सन् २०१७ मे २ देखि तपाईँले आफ्नो डिभी–२०१८ आवदेनको स्टेटस चेक गर्न सक्नुहुन्छ ।
आवेदन भर्नका लागि तपाईँले निम्न जानकारी उपलब्ध गराउनुपर्दछ ः

१. पूरा नाम – थर, नाम, बीचको नाम । आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् ।
२. लिङ्ग – पुरुष वा महिला ।
३. जन्म मिति – दिन, महिना, वर्ष ।
४. जन्मिएको शहर ।
५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनुपर्दछ ।

६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँजन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ ।
७. फोटो(हरू) – आफ्नो, आफ्नो पति÷पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ( पछिल्लो छ महिनामा खिचिएकोहुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटोबुझाउनेसम्बन्धी हेर्नुहोस् । यदि तपाईँको पति÷पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन । सामूहिक फोटो स्वीकार हुने छैन । प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो पछिल्लो छ महिनामा नखिचिएको, मिलाइएको वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवदेन रद्द हुनसक्छ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । थप जानकारीका लागि डिजिटल फोटो बुझाउनेसम्बन्धीमा हेर्नुहोस् ।

८. चिठी पठाउने ठेगाना
– नाम ठेगाना शहर,गाउँ जिल्ला, देश, प्रान्त, राज्य हुलाकी कोड, जिप कोड देश
९. हाल बसोबास गरिरहनुभएको देश ।
१०. फोन नम्बर (ऐच्छिक) ।
११. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था Entrant Status Check मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयो भनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१२. हालसम्म हासिल गर्नुभएको शिक्षा : (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९)
केही विद्यावारिधी तहका विषयहरू पढेको, र (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१३. वर्तमान वैवाहिक स्थिति – (अविवाहित, विवाहित) विवाहितको हकमा आफ्नो पति/पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर/नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् ।

१४. सन्तानको सङ्ख्या – तपाईँका सन्तान २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए वा नभए पनि नाम, जन्म मिति, लिङ्ग, जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।
निम्न लिखित अनिवार्य समावेश गर्नुहोला :

– सबै जिवित प्राकृतिक सन्तान,
– तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र
– तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनुपर्दछ चाहे तपाईँ सो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस या नहोस्र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् ।

विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् ।
आवेदक छनोट

डिभी–२०१८ आवेदकहरूले आफू डिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको एन्ट्रेन्ट स्टेटस चेकमा गई हेर्नु पर्दछ । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइट www.dvlottery.state.gov मा सन् २०१७ मे २ देखि कम्तीमा सन् २०१८ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।

यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँ कन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०१८ का लागि छनोट भएकाहरूले केवल एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन्। अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०१८ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ ।
डिजिटल फोटो बुझाउनेसम्बन्धी :

तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएकोप्रिन्ट फोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटो चाहिँ तल उल्लिखित कम्पोजिशन र टेक्निकल विवरण अनुसारको हुनुपर्दछ । तपाईँको फोटो ठीक छ कि छैन भनी थाहा पाउन ई–डिभी वेबसाइटको फोटो भ्यालिडेशन लिङ्कमा गएर हेर्नुहोस् जहाँ फोटोको कम्पोजिशनबारे थप टेक्निकल विवरण र स्वीकार्य तथा अस्वीकार्य फोटोका उदाहरणहरू प्रदान गरिएको हुन्छ । गतबर्ष डिभी लोटरी भर्दा हालेको फोटो यसपटक पनि हालेमा डिभी कार्यक्रमका लागि अयोग्य हुनुहुनेछ । फोटो २४–बीट कलर डेप्थको हुनुपर्दछ । यदि तपाईँले स्क्यानरको प्रयोग गर्दै हुनुहुन्छ भने स्क्यानरको सेटिङ्गस् ट्रु कलर वा २४–बीट कलर मोडमा हुनुपर्दछ । स्क्यानिङसम्बन्धी थप मापदण्डहरूबारे तल हेर्नुहोस् ।
कम्पोजिशनसम्बन्धी मापदण्ड :

– टाउकोको पोजिशन

फोटो लिइने व्यक्तिले सिधा क्यामेरामा हेर्नु पर्दछ ।

टाउको माथि, तल वा दायाँ–बायाँ ढल्केको हुनुहुँदैन ।

टाउकोको लम्बाइ वा अनुहारको साइज (कपाल समेत गरी टाउकोको टुप्पादेखि चिउँडोको तल्लो भागसम्म) फोटोको पूरा लम्बाइको ५० देखि ६९ प्रतिशतबीच हनुपर्दछ । आँखाको उचाइ (फोटोको तल्लो भागदेखि आँखासम्म) फोटोको लम्बाइको ५६ देखि ६९ प्रतिशतबीच हुनुपर्दछ ।

– हल्का रङ्गको पृष्ठभूमि
सादा, हल्का रङ्गको पृष्ठभूमिमा फोटो खिच्नुपर्दछ ।

– फोकस
फोटो फोकसमा हुनुपर्छ ।

– साजसज्जाका सामग्री नलगाउने
अनुहार स्पष्ट रूपमा पहिचान गर्न नसकिने गरी कालो चश्मा वा अन्य पहिरनका सामग्री लगाएको हुनुहुँदैन ।

– शिर ढाक्ने वस्त्र वा टोपी नलगाउने
धार्मिक कारणलेलगाइने टोपी वा शिर ढाक्ने वस्त्र स्वीकार हुनेछ तर शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारको कुनै पनि भाग ढाकेको हुनुहुँदैन । कुनै धार्मिक कारणका लागि नभई टाउकोमा लगाइने जातीय वा अन्य वस्त्र मान्य हुनेछैन । सेना, वायुसेवा, वा अन्य क्षेत्रमा कार्य गर्दा लगाइने टोपी मान्य हुनेछैन ।
टेक्निकल विवरण

– नयाँ डिजिटल फोटो लिनेसम्बन्धी : नयाँ डिजिटल फोटोखिच्दा निम्न मापदण्ड पूरा गरिएकोहुनु पर्दछ ।

फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ ।

फोटोफाइलको साइज : फोटोको अधिकतम साइज २४० किलोबाइट हुनुपर्दछ ।

फोटोको रेजोल्युशन र डाइमेन्सन : न्यूनतम स्वीकार्य डाइमेन्सन ६०० पिक्सेल (चौडाइ) X ६०० पिक्सेल (उचाइ) देखि बढीमा १२०० पिक्सेल X १२०० पिक्सेल हुनुपर्दछ ।

फोटोको कलर डेप्थ : फोटो रङ्गिन हुनुपर्दछ (२४ बिट्स पर पिक्सेल) २४–बिट ब्ल्याक एण्ड व्हाइट वा ८–बिट फोटो स्वीकार हुने छैन ।
फोटो स्क्यान गर्नेसम्बन्धी :

प्रिन्ट फोटो स्क्यान गर्नु अगाडि फोटोले माथि उल्लिखित कलर र कम्पोजिशनसम्बन्धी आवश्यकताहरू पूरा गरे नगरेको पक्का गर्नुहोस् । प्रिन्ट फोटोलाई तल उल्लिखित आवश्यकताहरू पूरा हुने गरी स्क्यान गर्नुहोस् ।
स्क्यानरको रेजोल्युशन :

कम्तीमा ३०० dots per inch (dpi) resolution मा स्क्यान गर्नुहोस्।

फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ । फोटोफाइलको साइज ः फोटोको अधिकतम साइज २४० किलोबाइट हुनुपर्दछ ।

फोटोको रेजोल्युशन : ६०० X ६०० पिक्सेल देखि बढीमा १२०० X १२०० पिक्सेल ।

फोटोको कलर डेप्थ : २४–बिट कलर । (ब्ल्याक एण्ड ह्वाइट, मोनोक्रोम, वा ग्रेस्केल फोटोहरू स्वीकार हुने छैनन्।)

No comments